काठमाडाैं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला अदालत पोखराले पक्राउ पुर्जी जारी गरेपछि प्रहरी टोलीले सांसद मनाङेलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)कास्कीका अध्यक्ष मिलन गुरुङले बुधबार दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनी राष्ट्रियसभा निर्वाचनको भोट हालेलगत्तै पक्राउ परेका हुन्।
उनलाई पक्राउ गरेर म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङेविरुद्ध उजुरी दिएका थिए । खेल मैदानमा नै कुटपिट गरी अभद्र व्यवहार गरेको भन्दै उनले जाहेरी दिएका थिए । जाहेरीमा मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरिएको छ ।
यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६