काठमाडौं । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत भई उपचारका क्रममा निधन भएका ८ जना भारतीय पर्यटकको सनाखत भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले ज्यान गुमाउने सबै एकै कोठामा सुतेको र निसास्सिएर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । उनका अनुसार उनीहरु १५ जना भारतबाट आएका थिए । जसमध्ये ८ जना एकै परिवारका थिए ।
डीएसपी बोगटीका अनुसार निधन हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण र ३२ वर्षीय सरिया छन् । यसैगरी सोही ठाउँका ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय वैष्णव र ९ वर्षीया बन्द्रा छन् ।
मंगलबार बिहान रिसोर्टमा अचेत भेटिएका उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनीहरुको उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।
उनीहरु पोखराबाट सोमबार साँझ सो रिसोर्टमा पुगेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६