काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका-४ दामनस्थित पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटककाे मृत्यु भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरूको मृत्यु भएको पुष्टि गरे । उनीहरूलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
मकवानपुरको उत्तरी थाहा नगरपालिका ४ दामनस्थित एभरेष्ट होटलमा सोमबार बेलुका १५ जना भारतीय पर्यटक बास बसेका थिए । उनीहरुमध्ये मृत्यु हुने ८ जना एकै कोठामा सुतेका थिए । अचेत भेटिएका ८ मध्ये २ युवक, २ युवती, २ बालक र २ बालिका छन् ।
कोठाभित्र झ्यालढोका थुनेर हिटर बालेर सुतेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले जानकारी दिए ।
२ जना बस्नुपर्ने कोठामा ८ जना बसेका कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने थाहा नगर होटल व्यवसायी संघका अध्यक्ष शिवराम खत्रीले बताए ।
१५ जनाको समूहमा दामन पालुङ घुम्न आएको भारतीय नागरिकमध्ये एउटा कोठामा ७ जना र अर्कोमा ८ जना बास बसेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६