धरान । तत्कालीन धरान नगरपालिकाका प्रमुख ध्यानबहादुर राईको ६० वर्षको उमेरमा साेमबार निधन भएको छ ।
अर्बुद रोगको उपचार गराइरहेका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले जानकारी दिए ।
राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचार गराइरहेका थिए । भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो ।
राई विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित भएका थिए ।
यसैबीच, पूर्वप्रमुखको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय मंगलबार बिदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६