इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
कावर सहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थीहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो ।
मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्यभन्दा माथि रहेको जनाइएको छ ।
पुल भत्किएपछि पानीमा डुबेर ७ जनाको मृत्यु भएको र ३ जना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले बताएकाे अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाे छ ।
नदीमा खसेका केही विद्यार्थीलाई सकुशल उद्धार गरिनुका साथै खोजी र उद्धार टोलीले हराएका विद्यार्थीको खोजी जारी राखेका छन् ।
इन्डोनेसियाको राजधानी जकार्तामा यसै महिनामा भारी वर्षापछि आएको बाढी पहिरोको कारण करिब ६७ व्यक्तिको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६