जुम्ला । जुम्लाकाे प्रसिद्ध धार्मिक मन्दिर चन्दननाथको मूर्ति हराएकाे ३ वर्षपछि भेटिएकाे छ । मन्दिरबाट चोरी भएको करिब १८ किलो चाँदीको दत्तात्रयको मूख्य मूर्ति खेतको आलीमा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
२०७३ मंसिर ८ गते राति मन्दिरबाट मूख्यमूर्तिसहित दर्जनौं बहुमूल्य मूर्ति चोरी भएका थिए । सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा खेतको आलीमा बेवारिसे अवस्थामा मूर्ति फेला परेको हो ।
मुचुल्का उठाइसकेपछि मन्दिरमा पुर्नस्थापनाका लागि तयारी गरिने चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका उपाध्यक्ष दयादत्त खत्रीले जानकारी दिए ।
मूर्ति चोरी भएको केही समयपछि अन्य मूर्तिहरु गुठीचौर गाउँपालिकाको देपालगाउँमा फेला परेका थिए । मूख्य मूर्ति भने भेटिएको थिएन ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६