विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेमा बम विस्फोट भएको छ । आइतबार साँझ निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा विस्फोट भएको हो ।
निर्माणाधीन किसान चोक रमिते सडकखण्डमा कामका लागि प्रयोग भएका ३ वटा स्काभेटरमा आगजनी र बम बिस्फोट भएको मिक्लाजुङ १ का वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए ।
बम बिस्फोटनका घटनाले स्थानीयवासीहरू त्रसित बनेका छन् । विस्फोट कसले गरायो भन्ने स्पष्ट भइसकेको छैन ।
प्रहरीले भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले विस्फोट गराएको हुनसक्ने आशंका गरेको छ ।
उत्तरी मोरङ तत्कालीन सशस्त्र युद्धमा माओवादीको सैन्य तालिम हुने आधार क्षेत्रका रुपमा चिनिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
विस्फोटबाट भएको क्षति तथा अन्य विस्तृत विवरण आइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६