बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले औपचारिक रूपमा शाही उपाधि परित्याग गरेका छन् ।
बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरूको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पतीले केही दिनअघि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उनीहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको हो ।
शाही दरबारको यो निर्णयसँगै उनीहरूकाे शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितीयका नाति ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।
महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरूपछि रचनात्मक र सहयोगात्मक कामहरू गर्ने मेरो नाति र परिवारको निर्णयबाट म प्रसन्न छु, ९३ वर्षीया महारानीबाट जारी वक्तव्यमा भनिएको छ ।
महारानीले भनेकी छिन्, ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहने छन्, पछिल्ला २ वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।
दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि उनीहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउने लगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
ह्यारी दम्पतीले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्बन्धपछि उनीहरूले २०१८ मा विवाह गरेका हुन् ।
राजकुमार चार्ल्सका कान्छा छोरा ह्यारी अहिले ३५ वर्ष तथा उनकी श्रीमती मेगन ३८ वर्ष भएका छन् । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैठौँ उत्तराधिकारी थिए।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६