काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आराेपमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासन कार्यालयबाट राउतविरुद्ध पक्राउ पुर्जी जारी हुने छ ।
महिला प्रहरी रमिता श्रेष्ठले गायिका राउतले सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै विमानस्थल प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी हुँदै महानगरीय प्रहरी परिसर आइपुगेको परिसरका एसएसपी सुवेदीले जानकारी दिए ।
उता गायिका राउतले भने त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा आफूलाई हातपातसहित दुर्व्यवहार गरेको भन्दै फेसबुक लाइभमार्फत महिला प्रहरीलाई तथानाम गाली गरेकी थिइन् । प्रहरी अधिकारीका अनुसार आस्था भारतमै रहेको बताइएको छ ।
गायिका राउतले कसूर गरेकाे प्रमाणित भएमा ५ महिनादेखि १ वर्षसम्म कैद वा ५ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६