पोखरा । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको २८ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीबार अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो । निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ।
उनलाई दिउँसो ३ बजे मृत घोषणा गरिएको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानाले बताए । खगेन्द्रमा यसअघि स्वासप्रश्वास, हमोग्लोबिनको कमी, ह्वाइट ब्लड सेल बढी हुने समस्या देखिएको थियो ।
बागलुङ धुल्लुवासकोटका खगेन्द्रले २०६७ असोज २८ मा विश्वकै होचो व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा नाम लेखिएको थियो ।
उनको उचाई ५७ सेन्टिमिटर (२२.०४ इन्च) थियो। उनले १८ वर्षको उमेरमा गिनिज बुकमा नाम लेखाएका थिए । खगेन्द्रको जन्मँदा तौल जम्मा ६ सय ग्राम थियो । निधनअघि उनको वजन ५.५ केजी थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६