काठमाडाैं । निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै ५ वर्षपछि धुलिखेल-बर्दिवास सडक विस्तार गरिने भएको छ। पूर्वी तराईलाई काठमाडौँसम्म जोड्ने मार्गकारूपमा रहेको सो सडक एक लेनको भए पनि वर्षेनी सवारीसाधनको चाप बढिरहेकाले विस्तारकोे योजना बनाइएको हो ।
गत दसैंकाे समयमा एकै दिनमा झण्डै १४ हजार सवारीसाधन सो सडकमा गुडेका थिए । सो सडकमा सवारीसाधनको चाप बढिरहँदा विस्तारको आवश्यकता महसुस गरिएको छ । सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति लिएको भए पनि सो सडकमा भने सडक चौडाइ कम भएकै कारण ठूला सवारीसाधनलाई प्रवेश गर्न दिने गरिएको छैन । यातायात व्यवस्था विभागले ३२ सिटभन्दा ठूला क्षमताका सवारीसाधनलाई गुड्न अनुमति दिने गरेको छैन ।
सडकमा तल्लो र माथिल्लो भागमा पहिरो रोक्नका लागि ढुङ्गा छाप्ने काम भएको थियो । त्यसलाई निकाल्दा समय र खर्च धेरै लाग्ने भएकाले त्यस बाहेक सम्भव भएका स्थानमा विस्तार गर्ने गरी योजना बनाइएको धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाले जनाएको छ । चार खण्डमा विभाजित भएर काम भएकामा तीन खण्डमा विस्तारको समस्या नभए पनि एउटा खण्डमा समस्या हुनसक्ने आयोजना व्यवस्थापक सूर्यबहादूर भाटले बताए।
सो खण्डलाई पनि विकल्प सडकमा मोडिनसक्ने उनको भनाइ छ । उनले भने, सम्भव भएसम्मको समयमा काम सुरु गर्ने गरी योजना बनाइएको छ । सडक विस्तारका सम्भावनाका बारेमा सर्वेक्षण आगामी फागुनदेखि सुरु गरिने उनले बताए ।
त्यसको प्रतिवेदन चालु आवमा आएपछि आगामी वर्षबाट काम सुरु गरिने छ । अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया सुरु भएको छ । आगामी वर्ष निर्माण सुरु भएमा ५-६ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । सडक विस्तारका लागि प्रतिकिलोमिटर ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
राष्ट्रिय राजमार्गको चौडाइ सडकको मध्यभागबाट २५-२५ मिटर हुन्छ । यो सडकको निर्माण सुरु हुँदा १५-१५ मिटर सडक कायम गरी काम सुरु भएको थियो । अहिले निर्माण सुरु गर्न जग्गा अधिग्रहणको समस्या नभएको उनले बताए । व्यक्तिगत जग्गामा समस्या नभए पनि जङ्गल क्षेत्र रहेकाले रुख हटाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, वन कार्यालयबाट अनुमति लिएर काम अघि बढाइने छ । सो आयोजनामा अहिले ९ पुल रहेकामा सबै एक लेनका छन् । ती पुललाई समेत २ लेनका बनाइने गरी योजना अघि बढाइएको छ । कुनै पुललाई विस्तार गरिने त कतै अर्को पुल बनाएर विस्तार गर्ने योजना छ । सो सडकको निर्माण गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अहिले विस्तारमा पनि रुचि देखाएको उनले बताए ।
एक सय ६० किमी लम्बाइको सो सडकमध्ये झण्डै ९० प्रतिशत स्थानमा २ लेन बनाउन सकिने उनले जानकारी दिए । बर्दिवास-सिन्धुलीबजार, सिन्धुलीबजार-खुर्कोट र नेपालथोक-धुलिखेल खण्ड विस्तार गर्न सकिने भए पनि खुर्कोट-नेपाल थोक विस्तार गर्न कठिन छ ।
सो सडकमा खैरेनीघाट पुलबाट मध्यपहाडी राजमार्गमा सवारीसाधन मोड्ने गरी योजना बनिरहेको उनले बताए । खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग निर्माणको प्रस्ताव गरिएको छ ।
साँघुरो ३० किमी सडकको विकल्पका रुपमा ७ किमी लम्बाइको सुरुङमार्ग प्रस्ताव गरिएको छ । उनले भने, अन्य भागमा सडक जतिकै चौडाइको सुरुङमार्ग निर्माण गर्न सकिन्छ । सो सडकको निर्माण सन् १९९६ मा सुरु भएको थियो । सिन्धुलीको जुनारलगायतका कृषि उत्पादनलाई काठमाडौँसम्म ल्याउने उद्देश्यले सो सडकको निर्माण गरिएको थियो ।
धुलिखेल-नेपालथोक सडक सन् २००१ मा सम्पन्न भएको थियो भने नेपालथोक खुर्कोट सडक सन् २०११ मा सम्पन्न भएको थियो । सडक विस्तारको योजना अघि बढाइरहँदा आयोजनाले सडक स्तरोन्नतिको काम समेत गरिरहेको छ । चालु आवमा ४२ किमी सडक स्तरोन्नति गर्ने आयोजनाको लक्ष्य छ । सो सडक ४ खण्ड बर्दिवास-सिन्धुलीबजारको लम्बाई ३७ किमी, सिन्धुलीबजार-खुर्कोट ३९ किमी, खुर्कोट-नेपालथोक ३२ किमी र नेपालथोक-धुलिखेल ५० किमी छ । रासस
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६