रोजगारीका लागि दक्षिण कोरिया गएका २ नेपाली युवाको छुट्टाछुट्टै घटनामा निधन भएको छ ।
दक्षिण कोरिया, छल्लाबोक्दोस्थित १ बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरेका छन् । तनहुँका नरबहादुर रानाकाे भने औद्योगिक दुर्घटनामा परी निधन भएकाे हाे ।
साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फार्मभित्र मृत फेला परेका थिए ।
साढे २ महिना पहिला कोरिया आएका राईले बेलाबेलामा आफू मानसिक तनावमा रहेको बताउने गरेको उनका साथीले जानकारी दिएका छन् । घटनाबारे कोरिया प्रहरीले अनुसन्धान गरिरहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।
तनहुँका रानाको भने कम्पनीमा छिगेछा (गह्राैं सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी निधन भएको उनीसँगै कार्यरत नेपालीले बताए ।
राना ४ वर्ष १० महिनाको पहिलो कार्यकाल सकेर केही महिनाअघि मात्र कोरिया आएका थिए । ती घटनाबारे सिउलस्थित नेपाली दूतावासमा जानकारी आएको बताउँदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले दुवै शव नेपाल पठाउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६