काठमाडौँ । काठमाडाैंस्थित त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीले दुर्व्यवहार गरेकाे भन्दै प्रहरी संगठनलाई नै तथानाम गाली गरेकी आस्था राउतले गलत शब्दहरू प्रयाेग गरेकाे भन्दै माफी मागेकी छिन् ।
प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका आस्था राउतले आफूले बोलेको शब्दहरुप्रति ग्लानि महसुस गरेकी हुन् ।
शुक्रबार फेसबुक लाइभमार्फत राउतले प्रहरीकाे दुर्व्यवहारपछि आवेशमा आएर जथाभावी बाेल्न पुगेकाे बताएकी हुन् । लाइभमार्फत राउतले यसाे भनिन्ः
मैले कुनै दम्भ पनि देखाएको छैन । डराएको पनि छैन । राम्रो काम गरेर हिँडेको मान्छेले कहिल्यै दम्भ देखाउँदैन । अत्याचार भएर बोल्दा उल्टै म नराम्रो भएँ । फ्यानहरुलाई आग्रह । मेरा लागि पनि बोलिदिनुस् ।
भिडियो गर्ने बेला आफूले संयमितता अपनाउनुपर्थ्यो । तर, उजुरी त गर्थें गर्थें । मैले संयमित भएर बोल्न सकिनँ । त्यसका लागि माफी चाहन्छु ।
कसैको पनि मनोबल गिराउने उद्देश्य मेराे थिएन । तपाईहरुले माया दिएको भए मैले पनि माया दिन्थेँ ।
प्रहरीबाट मात्र दुर्व्यवहार हुँदैन । आर्मीबाट पनि हुन्छ । तर, ममाथि दुर्व्यवहार भएको हो नै । ठूलाठूला पदका व्यक्तिले मात्र राम्रो बोलेर हुँदैन । जरैदेखि राम्रो हुनुपर्छ ।
देखेको भरमा मलाई अनावश्यक गाली नगर्नुहाेस् । २-४ शब्द गल्ती बोलेँ । त्यसका लागि क्षमा चाहन्छु । २ हात जोडेर माफी माग्छु ।
विमानस्थलमा कार्यरत महिला प्रहरीले मलाई गन्धी पाराले बोलेको हाे । जसले भोग्छ त्यो मान्छेलाई मात्र थाहा हुन्छ । कोही कसैले पनि मैले जस्तो भोग्न नपरोस् ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६