चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकमा पछाडिबाट आउँदै गरेको बा १ प ७८३ नम्बरको पर्यटक बसले बिहान सवा ११ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२ र घरमा रहेका एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६