काठमाडौं । पश्चिमी न्यूनचापीय वायु प्रणाली भित्रिएपछि नेपालमा सुरु भएकाे वर्षा र हिमपात आज शुक्रबार पनि दिनभर नै कायम रहने भएकाे छ । नेपालको पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा सामान्यदेखि पूर्णतया बदलीकाे अवस्था छ ।
नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य र पूर्वी भूभागसम्म फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार साँझदेखि जुम्ला, हुम्ला, मनाङलगायत हिमाली भेगमा भारी हिमपात भइरहेको छ भने मध्य पहाड, पूर्वी पहाड र तराईमा वर्षा भइरहेको छ, मौसमविद् वरुण पौडेलले भने, वर्षासँगै तराईमा लागेको हुस्सु भने हटेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
हेराैं आगामी ३ दिनको मौसम पूर्वानुमान
माघ ३ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ भने पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ ४ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
माघ ५ गते आइतबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली भई पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६