नुवाकोट । अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकालले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जित हासिल गर्यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए ।
लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । पुड्के गाउँ कटेपछि तारकेश्वर गाउँपालिका–३ जोरचौताराका कुमार अधिकारीको मन कुँडियो । विगतमा खान्की पुर्याउन नसकेर बेचे पनि पुड्केलाई पुनः घर फर्काए । ‘एक त ज्ञानी, अर्को माघे सङ्क्रान्तिको प्रतिस्पर्धामा अब्बल, नल्याई भो’, मुस्कुराउँदै उनले भने । कुमारले अरु बेला खनजोतमा प्रयोग गरे पनि ३ महिनादेखि पुड्केको पालनपोषणमै समय खर्चिए ।
६ वर्षको पुड्के हेर्दा सानो गाँठीको भए पनि कसिलो जुरो र मोटो सिङ छ । पहेँलोको जोडी बालखैदेखि चामल, घ्यू, नौनी, अण्डा खान्थ्यो । खेती कमाइ नियमित दिँदै आएको छ । बाबुसँगै छोरा श्यामसुन्दर उसकै स्याहारसुसारमा लाग्थे । अन्ततः उनीहरुको प्रयास खेर गएन ।
यसपालि बुधबार नुवाकोटको तारुकामा भएको प्रतिस्पर्धामा हक्वाँ... हक्वाँ गर्दै पुडके आयो । एकछिन खुट्टाले जमिन खोस्र्यो, जमिनमै सिंगौरी खेल्यो । रातमाटे धुलोमा रुमल्लियो । लगत्तै आयो लाले । विकास भण्डारीको लालेसँग ऊ ७ मिनेट भिड्यो । भिडन्त अवधिभर घमासान भयो । लाले जब्बर थियो ।
पुष्ट, मोटो अनि सर्लक्क परेको जीउ देख्दा लालेले हार्छ भन्ने दर्शकले सोचेकै थिएनन् । बेलाबेलामा पुड्केले काँध दिन्थ्यो । दर्शक अब पुड्केले हार्न लाग्यो भन्थे । हुटिङ आउँथ्यो । पुड्केका मालिक कुमार हरेस नखाई मैदानमै थिए । उसको जुक्ति र दाउ उनलाई प्रष्ट थाहा थियो ।
अधिकारीले भने, ‘थर्काउन उसले काँध (आड) दिन्छ, जित्न कला चाहिन्छ, बल भएर हुँदैन, सिङले भेटेन भने थुतुनाले उधिनेर पाखा लगाउँछ, घुमीघुमी सबै उपाय अपनाउँछ, पुड्केमा यही विशेषता छ ।’ उनले गोरुको हारजित सामान्य भए पनि पुड्के हार्ने गोरु नभएको प्रतिक्रिया दिए ।
‘ज्यान सानो छ तर ‘पावरदारी’ छ, अर्कोको बल धेरै थियो तर बुद्धि र शैली पुगेन, पुड्केको बुद्धि भनेको दाउ हेरेर ठाउँ हेरेर कोख्याउन सक्ने हो’ अधिकारीले जितपछि भने । उनका अनुसार पुड्केले खाउञ्जेल घाँस दिने गरिएको छ । दिनमा पाथीभन्दा बढी अनाज खान्छ । गोरु जुधाउन श्यामसुन्दर पनि आएका थिए । परिवारको सदस्यझैँ पालिएको पुड्केले जितेपछि खुसी भएका उनले गोरुलाई अँगालो हालेर खुसी साटे ।
बेचेको पनि फर्काएर ल्याएँ
पुड्के ६ वर्षअघि गाउँकै शेरबहादुर तामाङको गोठमा जन्मियोे । ४ वर्षको हुँदा कुमारले किनेर ल्याए । पोहोर यही गोरु शिव ढकाल ‘झट्टे’ले खरिद गरी चन्द्रमान श्रेष्ठको रातेसँग भिडाए । उसका सामु राते निरीह बन्यो । लगत्तै पुड्केलाई फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे । ‘पहिले घरमा खान्की दिन नसकेर पठाएँ, मनमा लहड चल्यो, २ पटक बिक्री भएको गोरु फेरि फर्काएँ’, अधिकारीले थपे ।
छोरा १७ वर्षका श्यामसुन्दरको नामबाट यसपालि बुधबार पुड्के मैदानमा गएको थियो । उनले भने, ‘पुड्केले भनेको मान्छ, कसैलाई हान्दैन, गुनी छ, जुध्न भने पछि पर्दैन, त्यसैले यो मेरो साथी हो’, उनी पुड्केका हली पनि हुन् । सानै उमेरमा जोत्ने, साउने काम आफैँ गर्छन् ।
तारुकामा २१ हल जुधे
पुड्के र लालेसहित यसपालि नुवाकोटको तारकेश्वर गाउँपालिका–३ स्थित चन्दनीको कटरफेदमा २१ हल प्रतियोगी गोरु जुधे । १ हल अप्रतियोगी थियो । रेवती बखरेलले ६ वर्षको मालेलाई पहिलोपटक सहभागी गराए । सिउरेनीका राजकुमार श्रेष्ठको रातेसँग माले २ मिनेट पनि टिकेन ।
अर्जुन भण्डारीको मृगे र नवराज ढकालको काले २४ मिनेट भिडे । अन्ततः मृगेको सामु काले निरीह बन्यो । सुरुमा घमासान लडेको विष्णु श्रेष्ठको फुर्के हीरालाल श्रेष्ठको बाबुसँग ९ मिनेट भिडेर भाग्यो । केही गोरु रगताम्मे हुँदा पनि लडे । केही गोरु मैदानमा जुध्दै नजुधी फर्किए । केही गोरु मैदानमा साथी बनेर फर्किएको रोमाञ्चक क्षण देखिएको थियो ।
यहाँ देखिएको फरकफरक दृश्य हेरेर उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए । युवापुस्ता सेल्फी लिँदै सामाजिक सञ्जालमा ‘लाइभ’ र ‘पोस्ट’ गर्दै थिए भने बूढापाकाले वास्तवमै मनोरञ्जन लिएका थिए । मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मदनकुमार श्रेष्ठ नेपालको गौरव र तारुकाको पौरखको रुपमा रहेको गोरु जुधाउने मेला यहाँको संस्कृति नै हो भन्छन् ।
ठूलो पाटोमा जुधाइन्छ गोरु
चन्दनीस्थित झमबहादुर प्रधानको कटरको फेदको बारीको पाटोमा हरेक वर्ष गोरु जुधाइन्छ । दर्शक कान्ला र माथिल्लो पाटोको डाँडाभरि भरिन्छन् । स्थानीय रामजी ढुङ्गाना आफूले जान्ने भएदेखि गोरु जुधेको हेर्न कहिल्यै नछुटाएको बताउँछन् । यो गाउँको ठूलो चाड भएको उनको बुझाइ छ । टाढा गएका पनि गोरु जुधाई मेला हेर्न यही बेला फर्कने गरेको स्थानीयको भनाइ छ ।
गोरु जुधाउने पाटोसहितको जग्गा ७ रोपनीको छ । बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंह व्रतबन्ध गर्न यहाँको कोट दरबारमा आउँदा गोरु जुधाएको हेर्न मन लागेकाले त्यो बेलादेखि यहाँ गोरु जुधाई मेला थालिएको ८४ वर्षीय प्रधानले सुनाए । उनले आफ्नो बारीको पाटोलाई रङ्गशाला बनाउने सोच भए पनि पैसा अभाव भएको गुनासो गरे ।
यहाँ २०६३ सालपछि व्यवस्थितरुपमा गोरु जुधाउने परम्पराको थालनी गरिएको हो । बारीको पाटोलाई अझै व्यवस्थित बनाउने स्थानीयको सोच छ । यो मेलालाई सरकारले सहयोग गरेको छ । पशु अधिकारकर्मीबाट विरोध भइरहेको छ भन्ने जिज्ञासामा प्रधानले विरोधले केही नहुने दाबी गरे ।
मिति यकिन नभए पनि १ शताब्दी अघिदेखि चलिआएको गोरु जुधाउने पर्वको पशु अधिकारकर्मीले सामाजिक सञ्जालबाट विरोध गरिरहेका छन् । साहित्यकार एलवी क्षेत्रीले सामाजिक सञ्जालबाट प्रश्न गरे, ‘यी ‘बुल’हरू कसकाे मनोरञ्जनका लागि लड्छन् ? आफ्नो वा दर्शकको ?’ पशु अधिकारकर्मी विना पन्तले गोरु जुधाइलाई नराम्रो संस्कृतिको संज्ञा दिइन् ।
तारुकाको चन्दनीमा विरोधको कुनै गुञ्जायस थिएन । गाउँगाउँबाट हजारौँ मानिस पर्व हेर्न ओइरिएका थिए । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला पनि सो प्रतियोगिता अवलोकन गर्न पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६