काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ ।
२० करोड रुपैयाँ घूस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मुद्दा दायर गरेका थिए । डा. गिरीले अभद्र व्यवहार मुद्दामा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न निवेदन दिएकाे जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी सविन प्रधानले जानकारी दिए ।
डा. गिरीको निदवेदन पछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमा पक्राउ अनुमति मागेको थियो ।
न्यायका लागि गिरीले दुर्गा प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, बेइज्जती मुद्दा दायर गरेका थिए । २० करोड घूस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका थिए ।
गिरीले उनीविरुद्ध हालेको मुद्दाकै आधारमा अनुसन्धानका लागि प्रकाउ गर्न लागिएको भक्तपुर प्रहरी प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । प्रसाईंले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घूस मागेको आरोप लगाएका थिए ।
गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए ।
प्रहरीले पक्राउ गर्न लागेको सूचना पाएपछि प्रसाईं फरार छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६