काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडाैं उपत्यकासहित देशका कतिपय स्थानमा शुक्रबारसम्म हल्का वर्षा र हिमपात हुने जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण २ दिन हल्का वर्षा हुने महाशाखाकाे भनाइ छ ।
बिहीबार दिउँसोदेखि काठमाडौंलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारसम्म हल्का वर्षा हुने र शनिबारबाट मौसममा सुधार हुने महाशाखाका मौसमविद मञ्जु बासीले जानकारी दिइन् ।
पश्चिमी र मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहीबार राति पनि मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
यस्तो छ आगामी ३ दिनको मौसमी अनुमान
माघ २ गते बिहीबार
दिउँसो : देशको मध्य तथा पश्चिमी भूभाग लगायत पुर्वी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी/हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति: देशको मध्य तथा पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ भने पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
माघ ३ गते शुक्रबार
दिउँसो : देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने छ । साथै पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
माघ ४ गते शनिबार
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । पश्चिमी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
राति: देशभर आंशिक बदली भई देशका १-२ स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६