काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित देश निर्माणको अभियानमा रहेको बताएका छन् ।
सरकार भूकम्प प्रभावित क्षेत्रलाई मात्र नभई सिङ्गो मुलुकलाई सुरक्षित बनाउने अभियानमा रहेको उनको भनाइ छ । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा सन्देश जारी गर्दै उनले भूकम्प प्रभावितका आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित देश निर्माणको अभियानमा लागिएको बताएका हुन् ।
०७२ साल वैशाख १२ को विनासकारी भूकम्पबाट पुगेको क्षतिलाई पुनर्निर्माण गरी निश्कर्ष नजिक पुर्याएकाे भन्दै उनको सो दिनपछि भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा अग्रसर भएको बताएका छन् ।
भूकम्पले ध्वस्त जनताका आवास, ऐतिहासिक तथा पुरातात्विक सम्पदा लगायतलाई खण्डहर जमिनबाट उठाएर नवनिर्माणको सुखद् तस्बिरमा बदलेको उनको भनाइ छ । भूकम्पपछि ढलेको समाजको मनोबल उठ्ला त भन्ने प्रश्नलाई कामद्वारा नै सम्बोधन गरिरहेको भन्दै उनले निकट भविष्यमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
पुरातात्विक सम्पदाहको पुनर्निर्माण गर्दा परम्परागत मौलिकता कायम गएिको भन्दै उनले जोखिमयुक्त ठाउँका बस्तीलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाएको उल्लेख गरेका छन् ।
टाेरन्टाे प्रभावितका लागि समेत सरकारले काम गरेको भन्दै उनको सन्देशमा भनिएको छ –‘भूकम्पपछिको पुनर्निर्माण मात्रै होइन, बारा र पर्साका हुरी प्रभावित जनताका उजाड बस्ती ५ महिनामै निर्माण गरी हस्तान्तरण गरेका छौं ।’ प्राकृतिक विपत्तिका बेलामा राज्यका तर्फबाट अपनाएको लगाव र तत्परतालाई यसले प्रतिविम्बित गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन सजक हुन सबैलाई आव्हान गरेका छन् ।
राज्य संरचनाका अङ्गमा मात्र विपद् व्यवस्थापनका पक्षलाई सवल बनाएर नपुग्ने भन्दै सन्देशमा भनिएकाे छ – ‘समाजको जीवन पद्दतिलाई नै विपद् व्यवस्थापनको तयारी र त्यससँग जुध्न सक्ने बनाउनुपर्छ, यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन पारित गरिएको छ ।’
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६