काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसांसद विश्वनाथ यादव, पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख राजकुमार गोइत र तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई जनही २५ लाख रूपैयाँ बिगो कायम गरी बुधबार अख्तियारले मुद्दा दायर गरेको हो। सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न कीर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेर भ्रष्टाचार गरेको आरोप उनीहरूलाई छ ।
सप्तरी जिल्ला राजगढ गाउँपालिकास्थित मुतनी नदी सिँचाइ आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरूको नागरिकताको फोटोकपीमा अनाधिकृत रूपमा विवरण सच्याएको अनुसन्धानमा खुलेको छ।
यस्तै, अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाममा सिफारिस गरिएकोमा उनीहरूले कीर्ते गरी सच्याएको अनुसन्धानमा खुलेको छ।
ती कागजातको आधारमा योजना सम्झौता गर्दा समेत अवास्तविक उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरूको उपस्थितिबिना नै उक्त समितिको नाममा योजना सम्झौता विवरणसमेत नराखेको अख्तियारको दाबी छ।
साथै, कृष्णकुमार यादवसमेतको नाममा सिद्धार्थ बैंक राजविराज शाखामा खाता खोल्ने सिफारिससमेत गरीरगर्न लगाएर सरकारी सम्पत्तिको हानीरनोक्सानी गरेको आरोप उनीहरूलाई लागेको छ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६