काठमाडाैं । नेपाल शैक्षिक परामर्श व्यवसायी संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
नवगठित समितिको उपाध्यक्षमा देवीदास भट्टराई, द्वितीय उपाध्यक्षमा शेषराज भट्टराई, तृतीय उपाध्यक्षमा कृष्णहरि केसी, महासचिवमा दीपकराज भुसाल चयन भए । यस्तै प्रथम सचिवमा वासुदेव दाहाल, सचिवमा बिके श्रेष्ठ, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सहकोषाध्यक्षमा कर्ण गुरुङ सर्वसम्मत निर्वाचित भए ।
कार्यसमितिको पहिलो बैठकले साधारणसभाले पारित गरेका सुझावसहित सर्वसम्मतिबाट आएका वार्षिक तथा आर्थिक कार्ययोजनालाई पूर्णरूपमा कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
अध्यक्ष पाण्डेले वर्तमान समयमा शैक्षिक परामर्श दातृ संस्था सञ्चालनका लागि नीतिगतरूपमा अझै राज्य स्पष्ट भइनसकेकाले नीतिगत सुधारका लागि आफूले पहल थाल्ने बताए ।
मुलुक सङ्घीय संरचनामा गइसकेको छ, शैक्षिक परामर्श दातृ संस्था कुन तहअन्तर्गत रहने भन्ने स्पष्ट नीति आइसकेको छैन , उनले भने, जसले यस क्षेत्रमा अन्योलता सिर्जना गरेको छ, शैक्षिक परामर्श क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउँदै समग्र क्षेत्रको विकासमा लाग्नुको विकल्प छैन ।
पाण्डेले शिक्षानीति व्यावसायीकताका लागि मात्रै नभई विद्यार्थी र अभिभावकका पक्षमा समेत बनाउनुपर्नेमा जोड दिए ।
उनले आफ्नो कार्यकालमा समग्र शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउँदै स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाइ नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने बताए । उनले इक्यानका सदस्य संस्थालाई विभिन्न प्रकारका तालीम दिनुका साथै क्षमता विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६