पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेकाे अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार कुल ५८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् ।
देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् ।
हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६