काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा उनले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाइएको छ ।
बिएन्डसी मेडिकल कलेजको सम्बन्धनका लागि उपाध्यक्ष गिरीले आफूसँग २० करोड रुपैयाँ घूस मागेको भन्दै मेडिकल कलेज सञ्चालक दुर्गाप्रसाद प्रसाईले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका हुन् ।
मंगलबार राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै प्रसाईले पुस २७ गते उजुरी दर्ता गराएको बताएका हुन् । प्रसाईंले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न सबै निवेदन लिएर जाँदा पनि गिरीले २० करोड रुपैयाँ घूस मागेको र नदिए कम्पनीको १० प्रतिशत सेयर आफन्तका नाममा गरिदिन भनेको उजुरीमा उल्लेख गरेका छन् ।
केही दिनअघि प्रसाईले आफूसँग डा गिरीले २० करोड घूस मागेको भन्दै पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेका थिए । लगत्तै डा. गिरीले पनि त्यही दिन पत्रकार सम्मेलन गर्दै आरोपको खण्डन गरेका थिए ।
उनले लगाएकाे आरोप मिथ्या रहेको र आफ्नाे मानहानि भएकाे भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने बताए पनि डा गिरी अदालत गएका छैनन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६