काठमाडाैं । नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियरको विश्व वरीयतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघले आज सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स ११औँ स्थान उक्लिएका हुन् ।
१ साताअघि प्रिन्स विश्व वरीयतामा १४औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासंघले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको वरीयता निर्धारण गर्ने गर्छ । प्रिन्सले प्राप्त गरेको वरीयता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो।
हालै सम्पन्न प्रेसिडेन्ट कप इन्टरनेसनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अंकले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व वरीयताको तेस्रो स्थानमा छन् ।
२ साताअघि प्रिन्स विश्व वरीयताको ३२औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न दुबई इन्टरनेसनल सिरिजको उपाधि जितेपछि उनको वरीयतामा उल्लेख्य सुधार भएको हो ।
ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ वरीयताको दोस्रो स्थानमा छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६