काठमाडौँ । सार्वजनिक सवारी साधनमा युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक १ वर्षपछि पक्राउ परेका छन् ।
ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सिटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए ।
पछि उनी आफैँले त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।
घटना लगत्तै बसमा महिलाहरु असुरक्षित भएको भन्दै केही युवतीले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी गरेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।
त्यसपछि नै प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा भिडियो सुरुमा अपलोड गरिएको समूहको पहिचान प्रहरीले गरेको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पनि इमेलबाट सम्पर्क गरेर सहयोग मागिएको थियो ।
युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका प्रहरीले जनाएको छ। अश्लील हर्कत गर्ने युवक र पीडित युवती दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६