जनकपुर । २ नम्बर प्रदेश सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका-५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई सो रकम दिने निर्णय गरेको बताए ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारबाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।
मुख्य न्यायाधिवक्ता झाले भने, अभियोजनकर्ताले कर्तव्य ज्यानमा मुद्दा चलाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्ने वातावरण बनेको छ ।
उनले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानुनको मस्यौदासमेत तयार भएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६