जनकपुरधाम । धनुषाका दिलीप भन्ने ओमप्रकाश महतोको हत्या प्रकरणमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानबाट दिलीपलाई पहिला फलामको लिभरले कोखामा घोचेर घाइते पारी सुताएर माथिबाट ट्रिपर चलाएको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका– ५ बस्ने रामजीवन महतोका २४ वर्षीय छोरा दिलीपले खोलाबाट चोरी निकासी गरी गिट्टी बालुवा उत्खन्न गरिरहेको खवर पाएलगत्तै रोक्न गएपछि उनलाई ना७ख ६४१३ नम्बरको ट्रिपरले किचेर हत्या गरेको खुल्न आएको छ । उनलाई कर्तव्य ज्यान गरी हत्या गरेको कसुरमा ४ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको समाचार राजधानी दैनिकले लेखेकाे छ ।
पक्राउ पर्नेहरुमा त्यही खोलामा सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक २७ वर्षीय विपिनकुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका– ९ बस्ने ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका–२ बस्ने २४ वर्षीय जितेन्द्रकुमार महतो र मिथिला नगरपालिका– २ बस्ने २७ वर्षीय रोशनकुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएका छन । दिलिपको शुक्रबार विहान करिब ४ बजे औरही खोलामा हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।
भारतको भोपालमा मेकानिकल इन्जिनियरिङको अन्तिम वर्षमा अध्ययनरत दिलिप १६ पुसमा विदामा घर आएका थिए । पछिल्लो ५ वर्षदेखि उनले समाजमा रहेका बेथितिविरुद्ध आवाज उठाउँदै आएका थिए ।
प्रहरी निरीक्षक जिल्ला तानिए
महतोको हत्या प्रकरणमा प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा तानिएको छ । घटना भएको स्थान मिथिला नगरपालिकाको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषामा झिकाइएको प्रदेश नम्बर २ का प्रमुखसमेत रहेका प्रहरी नायब महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले बताए ।
‘कारवाही नै त भन्न मिल्दैन, आन्तरिक व्यवस्थापनका क्रममा उहाँलाई जिल्ला प्रहरी कार्यालय धनुषामा झिकाइएको हो,’ डीआईजी कार्कीले भने, ‘उहाँ आज बिहानैदेखि जिल्लामा आइसक्नु भएको छ, उहाँको ठाउँमा अब अर्को प्रहरी निरीक्षक पठाउने तयारी गरिएको छ ।’
प्रहरी निरीक्षक यादवले दिलिपको हत्यालाई सवारी दुर्घटनामा परिणत गर्न खोजेको भन्दै मृतकका परिवारले असन्तुष्टि व्यक्त गरेका थिए । महतोको लासजाँच मुचुल्का नै नउठाएर उपचार गराउने बहानामा प्रहरी भ्यान लिएर आएको आरोप मृतकका आफन्तले लगाएका थिए ।
‘शुरुमा घटनास्थल नजिकैको लालगढस्थित मोडेल अस्पतालमा उपचार गराउने भनेर लासलाई उठाएर प्रहरीले लगेको थियो,’ मृतक दिलिपको शव परीक्षणका लागि शनिवार प्रादेशिक अस्पतालमा ल्याइएका बेला मृतककी बहिनी लक्ष्मी महतो र बुबा रामजीवन महतोले भने, ‘उपचार गराउने नै हो भने पीडित परिवारका सदस्यलाईसमेत लग्नु पर्छ भन्दा पनि गाडीमा चढाएका थिएनन् ।’
पीडत परिवारले घटना भएको बेलादेखि नै प्रहरी निरीक्षक यादव पनि क्रसर व्यवसायीसँग मिलेर हत्यालाई सवारी दुर्घटनामा मृत्यु भएको पुष्टि गर्न लागिपरेको आरोप लगाएको थियो ।
यता आफूमाथि भीडले लगाएको आरोप निराधार रहेको प्रहरी निरीक्षक यादवले प्रतिक्रिया दिएका छन् । ‘हिजोसम्म मान्छे पक्राउ नपरेको अवस्थामा आक्रोशित मानिसले जे पनि आरोप लगाउने नै भए,’ इन्स्पेक्टर यादवले भने, ‘तर अहिले पीडित परिवारलाई सोध्नुस्, उहाँहरु पूर्ण रुपमा सन्तुष्ट हुनु हुन्छ ।’
आफूले राजमार्गमा लाश राखेर राजनीति गर्न नदिएको भन्दै आफ्नै कारणले थप मानवीय क्षति नभएको उनले दाबी गरे ।
‘घटना भएको ४८ घण्टा भित्र केस समाधान गर्न सकेका छौं,’ उनले भने, ’आरोपित ४ जना मध्ये टिपर चालक, लोडर चालक र अर्को मानिसलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको छु ।’
’हत्यामा संलग्न भएको सामानसहित टिपरसमेत पक्राउ गरेर बुझाएको मान्छेले घटना दबाउने कुरा गर्नु कति सही हो ?’ उनले प्रश्न गरे ।
इलाका प्रहरी कार्यालय ढल्केवरमा इन्चार्ज भएर जानुअघि उनी जिल्ला प्रहरी कार्यालय धनुषाकै प्रशासन फाँट प्रमुख भएर काम गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६