धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरिद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ ।
रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ । सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । सो रेल सेट आइपुगेको १ महिनापछि सञ्चालन गर्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले बताए ।
२ वटा सेट खरिद गर्न लागिएकोमा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने उनको भनाइ छ । उनले भने, सेट आइपछि नै सञ्चालनको तयारी हुने छ ।
रेलमार्ग निर्माण सम्पन्न भए पनि गतवर्ष वर्षाको समयमा आएको बाढीले कमला नदीको तटबन्ध भत्काउँदा झण्डै सय मिटर रेलमार्ग बगाएको थियो ।
भारतीय कम्पनीले निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिनसकेकाले क्षति पुगेको स्थानमा समेत सोही ठेकेदार कम्पनीले काम गर्ने विभागका प्रवक्ता तथा वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्गको निर्माण भइरहेको हो । सरकारले गतवर्ष भारत सरकारसँग २ वटा रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो ।
दुई सरकारका बीच (जिटुजी) रेल खरिद भएको प्रवक्ता चित्रकारले बताए । डिजेल इलेक्ट्रिक मल्टिपल युनिट प्रविधिको सो सेटमा एउटामा ५ वटा डिब्बा रहने विभागका प्रवक्ता चित्रकारले बताए ।
उनका अनुसार सरकारले अहिले २ वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी २ सेटको क्षमता १ हजार २ सयसम्म यात्रु बोक्ने रहेको भन्दै उनले भने, रेल सेटको निर्माण भइरहेकाले अहिले हामीले आँकलन गरेकोभन्दा १-२ सयसम्म तलमाथि हुन सक्छ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको प्रवक्ता चित्रकारले बताए । रेल लाइन तथा रेल्वे स्टेसन तयार भइसकेको उनले बताए ।
यसमा कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुने छ ।
कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै दुई सयजना कर्मचारीको प्रस्ताव गरिएको विभागले जनाएको छ ।
नेपालमा हाल रहेको रेल्वे कम्पनी नाम मात्रैको कम्पनी भएकाले त्यसलाई सञ्चालनमा ल्याउन कम्पनीमा रेलसम्बन्धी ज्ञान र क्षमता भएका जनशक्ति आवश्यक भएकाले प्रस्ताव गरिएको हो । हाल रेल सञ्चालनका लागि कम्पनीलाई बलियो बनाउने काम भइरहेको हो ।
रेल सञ्चालनका लागि कम्पनीमा सबै गरेर २ सयभन्दा बढी जनशक्ति आवश्यक पर्ने विभागले बताउँदै आएको छ । १ जना प्रमुख, सञ्चालन, मर्मतलगायतका कामका लागि इन्जिनियरिङ क्षेत्रका जनशक्ति, प्रशासन, लेखालगायतका कर्मचारी आवश्यक भएको भन्दै विभागले प्रस्ताव गरेको हो ।
रेलसम्बन्धी कानुन नभइरहेको अवस्थामा सरकारले रेल्वेसम्बन्धी विधेयक अघि बढाएको छ । बिहीबार विधेयक राष्ट्रियसभामा दर्ता भएको छ । विधेयकले रेल्वे बोर्ड र कार्यकारी समितिको समेत कल्पना गरेको छ ।
रेल र यात्रुको सुरक्षा, चालक र सहचालकको योग्यता, अन्तरदेशीय रेलमार्गलगायतका विषय विधेयकमा समेटिएको छ । नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन ।
पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । देशभित्रै र अन्तरदेशीय रेल सञ्चालनका लागि कतिपयमा पूर्वाधार निर्माण त कतिमा अध्ययन भइरहे पनि त्यससम्बन्धी छुट्टै कानुन छैन ।
जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एकडेढ वर्ष पछिबाट काम शुरु भएको थियो । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको चित्रकारले जानकारी दिए । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन ।
भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु ३ रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगन्ज छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६