अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनामा परी मृत्यु भएकामध्ये १ जना प्रहरी र १ जना उद्धारकर्तासमेत रहेका जनाइएको छ। टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरुको मृत्यु भएको हो।
त्यसैगरी ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरु बाटोमै रोकिएका थिए ।
वृद्धवृद्धाहरुको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का १ जनाको इओवामा मृत्यु भएको छ ।
आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरहरुमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौ मानिसहरु विद्युत सेवाविहीन अवस्थामा छन् । त्यसैगरी कतिपय राजमार्गहरु बन्द भएका छन् । विशेष गरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।
त्यसैगरी सिकागोका २ अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरुले जनाएका छन् । विमानस्थलका अधिकारीहरुका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९ सय ५० भन्दा बढी उडान स्थगित भएका हुन् ।
शनिबार बिहानैदेखि आइतबार दिउँसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुले जानकारी दिएका छन् । शनिबार रातभरि र बिहानसम्म पनि वर्षा भएको उनीहरुले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६