काठमाडाैं । आइतबारका लागि निर्धारित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार तय गर्न नसकेकाले बैठक स्थगित गरिएको हो । बैठक माघ ६ गते दिउँसाे १ बजेका लागि बाेलाइएकाे छ ।
वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिँदा सभामुखकाे उम्मेदवार चयन झन् जटिल बनेकाे छ । संविधानमा व्यवस्था भएअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने छ । उपसभामुखले राजीनामा नदिई नेकपाले सभामुख दाबी गर्न नमिल्ने कानुनी अड्चनका कारण सभामुखकाे विषयले जटिल माेड लिएकाे हाे ।
उपसभामुख शिवमायालाई राजीनामा गर्न नेकपा सचिवालय बैठकले निर्देशन दिएको भए पनि उनले राजीनामा गर्न मानेकी छैनन् । उनले पार्टीको निर्देशनलाई बेवास्ता गर्दै राजीनामा नदिने अडान लिएकी छन् ।
सभामुख चयनमा गतिरोध जारी रहेका बेला शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले तुम्बाहाम्फेलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । शिवमायाले ओली र प्रचण्डसमक्ष सभामुखका लागि आफ्नो योग्यताको सूची पेस गर्दै राजीनामा नदिने अडान राखेकी थिइन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार आरोपमा थुनामा गएपछि सभामुख पद खाली छ। सत्ता बाँडफाटमा राष्ट्रपति तत्कालीन एमाले र सभामुख माओवादी पक्षले लिने सहमतिअनुसारै महरा सभामुख बनेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६