सिन्धुपाल्चोक । १ भारतीय नागरिकको हत्या अभियोगमा ७ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको बिहार घर भई पर्सा जिल्ला पोखरिया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको पुस ६ गते हत्या भएकाे हाे ।
हत्या अभियोगमा वीरगन्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
फटकशीलाबाट यही पुस १७ गते छ र प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा यही पुस २२ गते वीरगन्जबाट पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ढलान कार्य सकेपछि ठेकेदार मियाँको टोलीले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना ७ त २०९५ नम्बरको ट्र्याक्टर चढेर मेलम्ची बजार झरेका थिए । बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरी हत्या गरेका थिए ।
ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए । उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हत्याको ९ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो । हत्या भएको आशङ्कामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६