काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूप्रति लगाएकाे आरोपकाे खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएका छन् ।
आफूले घूस मागेको भन्दै कलेजका सञ्चालक प्रसाईले लगाएको आरोप कपोकल्पित भएको गिरीले बताएका हुन् । मापदण्ड पूरा गरे पनि अयोगले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै असन्तुष्ट प्रसाईले पत्रकार सम्मेलन गरी आयोगका उपाध्यक्ष डा गिरीले २० करोड घूस मागेको आरोप लगाएका थिए ।
डा.गिरीले पनि तुरुन्तै पत्रकार सम्मेलन गरी प्रसाईको आरोपको खण्डन गरेका हुन् । उपाध्यक्ष गिरीले आराेपकाे खण्डन मात्र गरेनन्, आफूमाथि मानहानि गरेकाले कानुनी उपचार खोज्ने चेतावनीसमेत दिए ।
उनले भने, ‘प्रसाईंको आरोप सुनेर आश्चर्यमा परेँ । यो कपोलकल्पित र झुट हो, मलाई यसमा खेद छ ।’ आफू १५ मंसिरमा द्वारिका होटलमा समेत नगएको भन्दै प्रसाईंसँग भेट नै नभएको बताए । उपाध्यक्ष गिरीले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६