इरानमा बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका मध्ये ८२ जना इरानका र ६३ जना क्यानडाका नागरिक रहेका पाइएको छ ।
इरानको राजधानी तेहरानबाट बुधबार बिहान उडेको युक्रेनको विमानमा परी उनीहरुको मृत्यु भएको युक्रेनका एक मन्त्रीले जनाएका छन् ।
विमानमा अरु ११ जना युक्रेनका नागरिक, १० जना स्विडेनका नागरिक, ४ जना अफगानिस्तानका नागरिक, ३ जना जर्मनका नागरिक र ३ जना बेलायतका नागरिक रहेका युक्रेनका विदेशमन्त्री भाड्याम प्रयस्तैकोले ट्विटरमा लेखेका छन् ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडीमीर जेलेन्क्सीले दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।
युक्रेनको बोइङ–७३७ विमान बुधबार तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको केही बेरमा दुर्घटना भएको थियो ।
विमानमा कम्तीमा १ सय ६७ जना यात्रु र अरु ९ जना चालक दलका सदस्य गरी कुल १ सय ७६ जना रहेका र उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको अधिकारीले जनाएका छन् ।
विमानस्थलका प्रवक्ता अलि कसानीले विमानमा रहेका सबैको मृत्यु भएको पुष्टि गरे । उनले प्राविधिक गडबडीका कारण विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि बताए ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६