काठमाडौँ । बिएन्डसी मेडिकल कलेज झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घूस मागेको आरोप लगाएका छन्।
प्रसाईले काठमाडौंमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड रकम घूस मागेको आरोप लगाएका हुन् । प्रसाईले बिएन्डसी मेडिकल कलेजको सम्बन्धन पाउन २० करोड रकम दिनुपर्ने शर्त डा. गिरीले राखेको आरोप लगाएका हुन् ।
सम्बन्धनका लागि गत मंसिर १५ गते आयोगमा निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष डा. गिरीले निवेदन अस्वीकार गरी द्वारिका होटलमा बोलाएर सम्बन्धनका लागि आफुलाई २० करोड रकम दिनुपर्ने शर्त राखेको आरोप प्रसाईले लगाए ।
‘यो रकम मैले शिक्षामन्त्री गिरीराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठलाई पनि बुझाउनुपर्छ भन्नुभयो । १ करोडसम्म भएको भए कुरा अर्कै थियो । यत्रो रकम म दिन सक्दिनँ भनेँ’, उनले भने, ‘मैले रकम दिन नसक्ने भनेपछि कलेजको सम्बन्धन रोकिएको हो ।’
उपाध्यक्ष गिरीले २० करोड रकम घूस मागेको विषय आफूले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई जानकारी गराएको पनि उनले बताए । नेकपाको कार्यालयमै पुगेर प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई यसको जानकारी गराएको हुँ , प्रसाईंले सम्मेलन भने ।
उपाध्यक्ष डा. गिरीले शिक्षामन्त्री र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत आफनो पक्षमा रहेको भन्दै आफूसँग रकम मागेको प्रसाईंको दाबी छ । यसबारे सबैलाई जानकारी गराउँदा पनि कतैबाट केही पहल नभएपछि बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।
प्रसाईले पुस मसान्तसम्ममा आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिए अदालत जाने चेतावनी दिएका छन् । कि मेडिकल कलेजलाई सम्बन्धन दिन कि कलेज किन्न उनले सरकारलाई चुनाैती दिएका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६