महोत्तरी । पछिल्लो ३ साताभित्र २ पटक परेको पानीले यहाँ खुसी र चिन्ता दुवै छाएको छ । गत शुक्रबार र शनिबार हल्का वर्षा हुँदा किसान औधि खुसी भएका छन् । गत मंसिर महिनामा माटो गल्ने गरी जिल्लाभर पानी परेको थियो ।
वर्षाले जाडो बढाउँदा श्वासप्रश्वासका बिरामी थप अप्ठ्यारोमा परेका छन् । गरिब बस्तीका वृद्धवृद्धा, स–साना नानी र नवजात शिशुकी आमा वर्षापछिको जाडोले स्वास्थ्य समस्यामा परेका छन् । पछिल्लो वर्षाले जिल्लाका ग्रामीण सडक हिलाम्य भएका छन् । हिँडडुलमा पनि समस्या आएको छ ।
वर्षाले जाडो त बढायो, तर गहुँका लागि त अमृत नै बर्सेजस्तो भयो , जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका गहुँखेतीमा कहलिएका किसान सत्यनारायण यादवले भने, हेर्नोस् वर्षाको पानीमा त के जादू हुन्छ कोनि ! २ दिनमै गहुँ लहलहाएको छ । सन्तुलित वर्षाको पानी गहुँका लागि कुलोबाट गरिएको सिँचाइभन्दा निकै पोषिलो हुने बताइएको छ ।
पछिल्लो वर्षाले आलु र गोलभेँडा लगायत हिँउदे तरकारीलाई फाइदा पुर्याएको छ । आँप, लिची र कटहर सहितका फलका रुखमा नयाँ पात फेर्न र फुल्न वर्षालेको पनीले सहयोग पुर्याएको छ ।
बर्दिवास नगरपालिका–९ पशुपतिनगरका फलफुल किसान सुरजसिंह कुशवाहाले भने, सन्तुलित हिउँदे वर्षा भएको साल फलफुल राम्रो उत्पादन हुने गरेको छ । पशुपालक किसान पनि वर्षाले चरनक्षेत्रमा घाँस राम्रो उम्रने र बढ्ने आसले उत्साहित देखिएका छन् ।
मुख्य सडक हिलाम्य भएका छन् । बर्दिवास–जलेश्वर सडक पुनःनिर्माणको काममा ढिलाइ हुँदा पछिल्लो वर्षाले सवारी साधन चलाउन नसकिने भएको छ । रासस
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६