इरानको तेहरानमा भएकाे युक्रेनी एयरलाइन्सको विमान दुर्घटनामा परी विमानमा सवार सबै जनाकाे मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।
इरानियन स्टुडेन्ट न्यूज एजेन्सी (इसना) ले विमानमा सवार सबै जनाको मृत्यु भएको जनाएको हो । हाल शव संकलन गर्ने कार्य भइरहेको जनाइएको छ । बोइङ ७३७ मा चालक दलका सदस्य र १ सय ८० यात्रु रहेको बताइएको छ। यद्यपि, आधिकारिक संख्या भने सार्वजनिक हुन बाँकी रहेको बताइएको छ ।
तेहरानस्थित इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमा नै विमान दुर्घटनामा परेको हो ।
विमान बिहान ५ बजेर १५ मिनेटमा युक्रेनको राजधानी केइभस्थित बोरिस्पिल विमानस्थलसम्म उडान गर्ने तालिका थियो। तर उक्त विमान बिहान ६ बजेर १२ मिनेटमा मात्रै उडेको थियो।
विमान दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ । विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ , इरानको आपतकालीन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ ।
इरानले इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको केही घण्टापछि यो दुर्घटना भएको हो । तर विमान दुर्घटनासँग मिसाइल आक्रमणको कुनै सम्बन्ध नरहेको बताइएको छ ।
इरानको अर्धसरकारी समाचार संस्था आइएसएनले प्राविधिक कारणले विमान दुर्घटनामा परेको उल्लेख गरेको छ। इसराले सार्वजनिक गरेको भिडियोमा विमान जमिनमा ठोक्किएपछि ठूलो आगलागी भएको देखिएको थियो ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६