काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले तराईका जिल्लामा ‘भिजिट मधेस नेपाल–२०२०’ अभियान सञ्चालन गरिने भएकाे छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेस भ्रमण गराउने ध्येयले सो घोषणा गरिएको हो ।
भिजिट मधेस नेपालद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा ‘भिजिट मधेस डटकम’ र भिजिट मधेस नामक मोबाइल एप्प सुरुआत गरिएको छ ।
तराई मधेसको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
तराई मधेसका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट ‘भिजिट मधेस नेपाल’ अभियान २ वर्षदेखि जारी रहेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, तराई–मधेसका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६