काठमाडाैं । महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइन व्यवसायमार्फत ठगी गर्ने मोरङका अलङ्कार जैन, भारतका नवीन अग्रवाल, आनन्द अग्रवाल, रौतहटकी शर्मिलाकुमारी श्रेष्ठ र काठमाडौँका सुशील गुरुङलाई सोमबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले उपत्यकाका विभिन्न स्थानमा बसेर अनलाइनमार्फत विभिन्न व्यक्तिलाई झुटा कुरा सम्प्रेषण गरी लाखौँ रकम ठगी गरेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
पक्राउ परेकासँग आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
मोटरसाइकल चोरी गर्दैगर्दा पक्राउ
यसैगरी मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका २० वर्षीय युवराज तामाङलाई आज बिहान पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार तामाङले मोटसाइकल चमतीबाट डोर्याएर ल्याएको अवस्थामा फेला पारेको हो । रासस
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६