दमक । नेपाल सरकारले झापाको निर्वाचन क्षेत्र नम्बर ३ र ५ मा फुसको छानो हटाई जस्तापाताको छाना लगाउने कार्यक्रम सुरु गरेको छ ।
सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत झापाका ती २ निर्वाचन क्षेत्रका १ हजार ४ सय परिवारको घरमा फुसको छानो हटाएर जस्तापाताको छानो लगाइदिने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई झापाले जनाएको छ ।
खर र परालले छाएको फुसको छानो आगलागी तथा अन्य विपत्तिका बेला असुरक्षित हुने भएकाले सरकारले सुरक्षित आवासका लागि यस्तो अभियान सुरु गरेको कार्यालयका इन्जिनियर भूपेन्द्र यादवले बताए । गरिब तथा विपन्न समुदायले फुसको छानोमुनि बस्नुपर्ने बाध्यताको अब अन्त्य हुने उनको भनाइ छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा हालसम्ममा ३ सय ५० घरमा जस्ताको पाता हाल्ने कार्य सम्पन्न भइसकेको छ भने क्षेत्र नम्बर ३ मा लक्षित परिवारको लगत संकलन कार्य भइरहेको यादवको भनाइ छ ।
उनीहरुलाई दुई किस्तामा अनुदान रकम नगदै प्रदान गरिँदै आएको छ । पहिलो किस्ता जस्तापाता खरिदका लागि ३० हजार र दोस्रो किस्ता काम सम्पन्न भइसकेपछि २० हजार रुपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा कार्यालयले जम्मा गरिदिने गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६