चितवन । चितवनमा गएराति भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ।
मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । रत्ननगर नगरपालिका-४ देबैलीस्थित सडकमा रोकिराखेको ना ५ ख ६४४५ नम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना ३८ प ८३२८ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते करिब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी नवलपुर–मलंगवा सडकअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा मंगलबार बिहान स्कारपियो पल्टिँदा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो सडकमा हिँडिरहेको राँगोलाई ठक्कर दिएर पल्टिएको हो । बिहान पौने ५ बजेतिर भएको दुर्घटनामा स्कारपियोमा सवार भारतीय नागरिक ४० वर्षीय प्रमोद सदाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
घाइतेहरुको नमूना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६