काठमाडौं । यूडब्लूएस नेपालको अग्रसरता र संखुवासभा चैनपुर नगरपालिका एवम् नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा करिब ५ सय घरधुरी लाभान्वित हुने गरी लिफ्ट खानेपानी योजना सुरु भएको छ ।
चैनपुर १० अन्तर्गत पर्ने कल्लेरी, सल्लेरी र खराङ बजारसँग गरेको प्रतिबद्धता अनुरूप “पिलुवा खोला खराङ लिप्ट खाने पानी आयोजना’’ को सर्वे डिटेल इन्जिनियरिङ डिजाइन तयार पारी आयोजनाको काम अगाडि बढाइएको हो ।
यूडब्लूएस नेपालको रू.३५ लाख र चैनपुर नगरपालिका ले ५ वटा ट्याङ्की बराबरको अनुमानित लागत रू.२० लाख, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान रू.१५ लाख गरी जम्मा कुल रु.७० लाखको लागतमा ३ तहमा लिफ्ट गरी आयोजना सम्पन्न हुनेछ । जसमा २० हजार लिटरको ३ वटा ट्याङ्की भने नगरपालिकाले निर्माण गर्ने छ ।
यो योजना मेयर भरतकुमार खत्रीले आफूले मेयरको निर्वाचन दौरानमा गरेको प्रतिबद्धताअनुसार चैनपुर नपाको विकास र समृद्धिको यात्रा भएको बताए । परियोजनाले यस क्षेत्रको सिंचाइ, खानेपानी समस्याको समाधान गर्ने विश्वास मेयर खत्रीको छ ।
यस बहुआयामिक आयोजना निर्माण सम्पन्न पश्चात् ४ सय ७५ घर धुरी प्रत्यक्ष लाभान्वित हुने र बृहत् परियोजनाले ईखुम्बा, झिली मिले, सल्लेरी र खराङ्गको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने चैनपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेजबहादुर कटुवालले जानकारी दिए ।
आफूले निर्वाचनको समयमा गरेको विकासको प्रतिबद्धता अनुरूप यो आयोजना सम्भव भएको कुरा बताए । यूडब्लुएसका प्रमुख सूर्य कार्कीले खासगरी पानीको जोहो गर्न बालबालिका विद्यालय अनुपस्थित हुने भएकाले यसको दिगो समाधानका निमित्त खानेपानी आयोजना अगाडि बढाइएको बताए । साथै आयोजनालाई आवश्यकता अनुरूप अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने कुरामा ध्यान गएको कार्कीको भनाइ थियो ।
यस आयोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मा भने चैनपुर नगरपालिका अन्तर्गत वडा नं. १० को मातहतमा रहनेछ । कार्की हाल सामाजिक विकास मन्त्रालयको प्रदेश १ को विद्यालय शिक्षाको शैक्षिक सुधार समिति अन्तर्गत निर्देशन समितिको सदस्यमा रही गुणस्तरीय शिक्षाका निमित्त शैक्षिक अभियान्ताका रूपमा काम गरिरहेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६