काठमाडाैं । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइतबारदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद् प्रतिभा मान्धरले बताइन् । उक्त पश्चिमी वायु कमजोर हुँदै गएकाले पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको हो । आजदेखि देशभरकै मौसममा क्रमिक सुधार आउनेछ, मौसमविद् मानन्धरले भनिन् ।
आज देशको पहाडी तथा उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । राति देशको उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि देशका उच्च हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । मङ्गलबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै मौसम खुले पनि बिहान र बेलुका चिसो नै रहिरहने हुनाले चिसोबाट जोगिन सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६