काठमाडौं । आगामी माघ ९ गतेका लागि तय भएकाे राष्ट्रियसभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नारायणकाजी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समथृकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ छन् ।
राष्ट्रियसभाको रिक्त १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रियसभा सांसदको उम्मेदवार दर्ताका लागि आइतबार १० देखि ३ बजेको समय निर्धारण गरेको छ। सातै प्रदेशमा उच्च अदालत रहेका जिल्लामा आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
प्रकाशित मिति: आइतबार, पुस २०, २०७६