कपिलवस्तु । कपिलवस्तुबाट निर्वाचित प्रतिनिधिसभाका सांसद् अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुरेशविक्रम शाहले सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरेका छन् । उनले सांसद शाहलाई पक्राउका लागि संसदलाई जानकारी दिने लगायतका आवश्यक प्रक्रिया पुर्याउने काम भइरहेको समेत बताए ।
कपिलवस्तु ३ बाट निर्वाचित सांसद शाहविरुद्ध स्थानीय श्यामकुमार मिश्राले जाहेरी दर्ता गरेका थिए । साेही जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतमा सांसद शाहलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेको थियो ।
मिश्रामाथि गत पुस ५ गते कृष्णनगरस्थित सांसद शाहको घरमा कुटपिट भएको थियो । मिश्राले दर्ता गरेको उजुरीमा सांसद शाह र उनका सवारी चालक सोनु कहारले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको दाबी गरिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६