काठमाडौं । लामो समयदेखि नेपालको पूर्व क्षेत्रमा सक्रिय रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा प्रेस स्वतन्त्र सेनानी याम प्रधानको निधन भएको छ ।
दुवै मिर्गौला फेल भएर डायलािसिस गराउँदै आएका प्रधानको आफ्नै निवासमा बिहीबार बिहान ३ बजे निधन भएको हो । स्वर्गीय प्रधान नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वअध्यक्ष,नेपाल प्रेस युनियनको पूर्वउपाध्यक्ष हुन् । स्वर्गीय प्रधानका श्रीमती र एक छोरी छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गरेका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रधानलाई महासंघले २०७३ सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो ।
प्रेस युनियन स्तब्ध
नेपाल प्रेस युनियनले राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी याम प्रधानको निधनमा दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी प्रधानको निधनमा दुःख व्यक्त गरे ।
हाम्रो संस्थाका पूर्व उपाध्यक्ष प्रधानको निधनमा प्रेस युनियन स्तब्ध भएको छ , विज्ञप्तिमा भनिएको छ । युनियनले अग्रज पत्रकार प्रधानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६