काठमाडौं । बुधबारदेखि काठमाडाैं उपत्यकालगयत देशका कतिपय ठाउँमा हल्का वर्षा हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । वर्षा र हिमपातका कारण अझै चिसाे बढ्ने माैसमविद्ले जनाएका छन् ।
भारतको जम्मु-कश्मिरमा विकसित न्यूनचापीय प्रणाली नेपालतिर आइरहेकाे भन्दै महाशाखाले यस्ताे अनुमान गरेकाे हाे । मंगलबार रातिदेखि साे वायु नेपालमा सक्रिय हुने छ । साेही प्रणालीका कारण बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।
शुक्रबार र शनिबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले भने, न्यूनचापीय प्रणाली नेपालको पश्चिम भूभागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्ने छ । जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भूभागमा वर्षा र हिमपातको सम्भावना छ । यो प्रणाली आइतबारसम्म सक्रिय रहने छ ।
यस्ताे छ महाशाखाले आगामी ३ दिनका लागि गरेकाे माैसमी अनुमानः
मंगलबार
देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक हल्का हिमपातको सम्भावना छ ।
बुधबार
देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी र पूर्वी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने सम्भावना छ।
बिहीबार
देशभर सामान्य बदली रही देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६