राजविराज । सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ ।
काेसीटप्पु वन्यजन्तु आरक्षबाट आएका ४-५ वटा हात्तीको समूहले सप्तकाेसी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
हात्तीको समूहले सप्तकाेसी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्याएको छ ।
हात्तीले घर भत्काउँदा भरतको १० हजार, ललनको ७० हजार, सन्तोषको १५ हजार, राजेन्द्रको २० हजार, अशोकको ३० हजार र दिनेशको २० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।
यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा १ लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा १ लाख बराबरको क्षति भएको छ ।
सीताराम सदाको घर भत्काउँदा १ लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको २ वटा घर भत्काउँदा ४० हजार, मुखालाल चौधरीका ३ घर भत्काउँदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा २०-२० हजार बराबरको क्षति भएको पीडितहरुले बताएका छन् । रासस
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६