काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्हाेसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका व्यक्तिलाई सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
ल्हाेसारका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले तमु ल्हाेसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीहरूको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अपेक्षा गरेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाे भन्दै यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, वेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पत्ति रहेकाले यस्तो विविधतायुक्त साझा सांस्कृतिक पुँजीलाई नेपालीले संरक्षण गर्दै आएको प्रधानमन्त्रीले बताएका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले तमु समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिने विश्वास पनि व्यक्त गरेका छन् ।
सन्देशमा तमु ल्हाेसार पर्वलाई गुरुङ समुदायमा नयाँ वर्षका रूपमा लिइने गरेको तथा गुरुङ (तमु) भाषामा ‘ल्हो’ भनेको दिन, र ‘छार’लाई पुस १५ को रूपमा लिइने गरेको चर्चा गर्दै उनले भूगोलअनुसार भिन्न नामले उच्चारण गरिए पनि तमु ल्हाेसारलाई संसारभरि छरिएर रहेका गुरुङ समुदायले आफ्नो नयाँ वर्ष वा वर्ग फेरिने दिनका रूपमा मनाउने गरेकाे उल्लेख गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६