तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा १ किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग चितुवाले खाएको अवस्थामा बालकको शव भेटिएको थियो ।
शुक्लागण्डकी नगरपालिकामा पनि चितुवाले बालकलाई आक्रमण गरेपछि यहाँका स्थानीयवासी त्रसित भएका छन् । यस अगाडि तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा ६ बालबालिकाको मृत्यु भएको थियो ।
यसैबीच डिभिजन वन कार्यालय तनहुँले सोमबार नै पीडित परिवारलाई किरिया खर्चवापत ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ ।
सहायक वन अधिकृत बाबुराम उप्रेतीले मृतक बालकको घरमा पुगेर बुबा राजु नेपालीलाई उक्त रकम प्रदान गरे । पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेकाले साँझ बिहानको समयमा सतकर्ता अपनाउन उप्रेतीले आग्रह गरे ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६