काठमाडौं । डेढ साताअघि स्वास्थ्य मन्त्रालयका पूर्वसचिव शान्तबहादुर श्रेष्ठलाई रुघाखोकी लाग्यो। उनले त्यसलाई सामान्य रूपमा लिए। ज्वरो आएपछि मात्रै उनी नजिकैको नागरिक सामुदायिक अस्पतालमा पुगे। संक्रमण बढ्दै गएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो।
त्यहाँबाट पनि मंगलबार राति महाराजगन्जस्थित शिक्षण अस्पतालको आइसियुमा भर्ना गरियो। संक्रमण अन्य अंगमा फैलिएपछि उपचारकै क्रममा गत बिहीबार उनको मृत्यु भयो। उनको मृत्युको मूल कारण भाइरल रुघाखोकी लाग्दा पनि हेलचेक्र्याइँ गरी ढिलो उपचारमा पुग्नु रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन्। चिकित्सकका अनुसार उपचारमा ढिलाइ भएपछि संक्रमणका कारण उनका धेरै अंग फेल भएका थिए।
भाइरल रुघाखोकीमा हेलचेक्र्याइँ गरी ढिलो उपचार सुरु गर्दा गत महिना आइसियुमै अर्को एकजनाको मृत्यु भएको अस्पतालले जनाएको छ। भाइरल रघाखोकीकै कारण यो महिना मात्र चारजनाको मृत्यु भइसकेको अस्पतालको भनाइ छ। बाराका ८५ वर्षीय कृष्णलाल चौलागाइँ शिक्षण अस्पतालकै आकस्मिक कक्षमा भर्ना भएका छन्। केही दिनअघि सुरु भएको रुघाखोकीले एक्कासि गम्भीर रूप लिएपछि उनी अस्पताल आएका हुन्। सास फेर्न गाह्रो भएपछि शनिबार उनलाई अस्पताल ल्याइएको हो।
संक्रमण बढ्दै जाँदा उनका अन्य अंगहरू पनि फेल भइसकेको चिकित्सकले जनाएका छन्। शनिबारै ठमेलका ७० वर्षीय रमन श्रेष्ठ (नाम परिवर्तन) शिक्षण अस्पताल पुगे। उनमा छिटोछिटो श्वास फेर्ने लक्षण देखिएपछि अघिल्लो दिन गंगालाल हृदय केन्द्र पु¥याइएको थियो। उनमा निमोनिया देखिएपछि गंगालालले उनलाई शिक्षण अस्रेफर गरेको थियो। अस्पतालको आकस्मिक कक्षमा उनीसहित नौजना यस्ता बिरामी उपचारार्थ आएका छन्, तीमध्ये चारजना गम्भीर प्रकृतिका छन्।
अस्पतालको आकस्मिक कक्षमा भाइरल संक्रमणपछि निमोनिया भएका बिरामी धेरै भर्ना हुने गरेको आकस्मिक कक्षका चिकित्सकले जनाएका छन्। ‘अस्पतालमा भर्ना गर्न शड्ढया र आइसियु खाली नभएपछि दुई दिनदेखि आकस्मिक कक्षमै उपचार गराइरहेका पनि छन्,’ शिक्षण अस्पताल आकस्मिक कक्षका प्रमुख डा. योगेन्द्र शाक्यले भने। जाडो मौसममा औसत २४ घण्टामा एक सयदेखि एक सय १५ जना भर्ना हुने शिक्षण अस्पताल आकस्मिक कक्षमा १० प्रतिशत त निमोनियाका मात्रै बिरामी छन्। आकस्मिक कक्षमा भर्ना भएकामध्ये निमोनियाका ४० प्रतिशत र भाइरल निमोनिया हुँदै सेप्सिसमा पुगेका २ प्रतिशत बिरामी रहेको वीर अस्पताल आकस्मिक कक्षका चिकित्सक डा. न्हुच्छेमान डंगोल बताउँछन्।
वीरको आकस्मिक कक्षमा दैनिक दुई सयजना बिरामी उपचारका लागि पुग्छन्। चिकित्सकका अनुसार सुरुमा भाइरल रुघाखोकी लागेका बिरामी निमोनिया हुँदै सेप्सिस र सेप्टिक सकमा पुगेपछि मृत्यु हुने गरेको छ। टिचिङको आकस्मिक कक्षमा संक्रमण भएर आएकामध्ये प्रत्येक चार दिनमा एकजनाको मृत्यु हुने गर्छ। यो हिसाबले मासिक सातजनाभन्दा बढीको मृत्यु हुने गर्छ। डा. आचार्यका अनुसार निमोनिया तथा भाइरल संक्रमण भएकामध्ये ३० प्रतिशतभन्दा बढीमा सेप्सिस हुन्छ। यीमध्येमा गम्भीर सेप्सिसमा जाने बिरामी भने ३ देखि ५ प्रतिशत छन्।
राष्ट्रिय इपिडिमियोलोजी महाशाखाका अनुसार पुसको पहिलो साताभित्र अघिल्लो साता दुई सय २७ जना श्वासप्रश्वासका बिरामी विभिन्न अस्पतालमा भर्ना भएका छन्। राजधानीमा मुख्य सरकारी अस्पतालहरूले मेडिकल रिपोर्ट नपठाउँदा यकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।
चिकित्सकहरूका अनुसार भाइरल रुघाखोकी लागेपछि अस्पताल आउनेमा वृद्धवृद्धा र पहिल्यै दमरोग, आज्मा, क्यान्सर, दम, मुटुरोग भएका, मिर्गौला प्रत्यारोपण गरेका, ६० वर्षमाथिका, एक वर्षमुनिका बाथरोगका औषधि सेवन गरेकाहरू बढी छन्। यो समूहका मानिसहरूमा सुरुमा भाइरल रुघाखोकी हुँदै निमोनिया (फोक्सोमा कीटाणुजन्य संक्रमण) हुने र निमोनियाले फोक्सोमा संक्रमण गरी कीटाणुको संक्रमण रगत हुँदै अन्य अंगहरूमा संक्रमण फैलिएपछि मृत्यु हुने गरेको छ।
शिक्षण अस्पतालको आकस्मिक कक्षका प्रमुख डा. आचार्य भन्छन्, ‘भाइरल ज्वरो भनेर हेलचेक्र्याइँ गर्दा मर्नुनपर्नेहरू पनि मरिरहेको अवस्था छ।’ चिसोकै कारण दम बढ्ने र भाइरल संक्रमणले दमका बिरामीलाई एक्कासि दम बढ्छ। यो दमले कतिपयमा निमोनियाको रूप लिन्छ। यस्तो संक्रमणमा बिरामी ढिला अस्पताल आइपुगेकै कारण नहुनुपर्ने मृत्यु हुने गरेको आकस्मिक कक्षका डा. शाक्यको भनाइ छ। ‘बिरामी बेहोसमा पुग्ने अवस्था भएपछि मात्र अस्पताल आउने गरेको देखिन्छ,’ उनले भने।
चिकित्सकका अनुसार कमजोर व्यक्तिलाई कडा खालको भाइरल इन्फ्लुएन्जा संक्रमण भएको अवस्थामा सजिलै निको हुँदैनन्। नेपालमा प्रदूषण तथा फोहोरका कारण भाइरल संक्रमण सजिलै निमोनिया र सेप्सिसमा पुग्ने गरेको चिकित्सकहरूको विश्लेषण छ। ‘विकसित देशमा धेरैजसो भाइरल संक्रमण केही दिनमा आफैं निको भएर जान्छ,’ उनले भने, ‘नेपालमा निमोनियाको रूप लिनुको कारण हो, उचित सफाइ व्यवस्थापन नहुनु। भाइरल संक्रमणको बेला फोहोरको कीटाणु श्वासप्रश्वास हुँदै फोक्सोमा पुगेपछि निमोनियाको रूप लिन्छ।’
निमोनियाका कीटाणु फोक्सोबाट रगत हुँदै अन्य अंगमा पुगेपछि सेप्सिस हुन्छ। विकसित राष्ट्रमा सफाइको साथै इन्फ्लुएन्जा र निमोनियाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने कारण पनि भाइरल सजिलै मृत्यु नहुने गरेको डा. शाक्यले बताए। नेपालमा सफाइ र यी खोपको व्यवस्था नहुँदा बर्सेनि धेरैले ज्यान गुमाउनुपरेको छ।
भाइरल संक्रमण निमोनियाका लक्षणहरू
चिकित्सकका अनुसार साधारण रुघाखोकी लागेको छ भने दुई÷तीन दिनमै निको हुन्छ। कडा खालको इन्फ्लुएन्जा संक्रमण छ भने दुई÷तीन दिनभित्र निको नहुन सक्छ। श्वासप्रश्वासको गति बढ्नु, पिसाबमा कमी हुनु, सचेतनामा कमी आउनेजस्ता तीनवटा लक्षण देखिए भाइरल संक्रमण निमोनिया हुँदै सेप्सिसमा पुगेको लक्षण हो। रगत हुँदै संक्रमण मुटु, कलेजो, फोक्सो, मिर्गौलामा पुगी ती अंग फेल हुने अवस्था सेप्टिक सक हो। सेफ्टिक सकको अवस्थामा बिरामी बेहोस हुने गर्दछन्।
कसरी बच्ने ?
माथि उल्लिखितमध्ये दुई लक्षण देखिनासाथ अस्पताल जान डा. आचार्य सुझाउँछन्। रुघाखोकी लागेको दुई÷तीन दिनमै ज्वरो आयो, कमजोरी महसुुस हुन थाल्यो भने उपचारमा गइहाल्नुपर्छ। हाम्रो जस्तो देशमा फ्लुको तुरुन्त परीक्षण नहुने र रिपोर्टका आधारमा उपचारको स्थिति नरहेकाले फिजिसियन तथा श्वासप्रश्वाससम्बन्धी रोगका चिकित्सकसँग स्वास्थ्य जाँच गराउने सुझाव चिकित्सक दिन्छन्।
भाइरल संक्रमणविरुद्ध दिइने सेल्टामारी नामक औषधि नेपाल सरकारले इपिडियोमोलोजी विभागबाट मात्र दिने गरेको छ। यो औषधि बजारमा उपलब्ध नभएकाले उपत्यकाबाहिर भाइरल संक्रमणले जटिल रूप लिने थप जोखिम रहेको डा. आचार्य बताउँछन्। व्यक्तिगत सफाइको व्यवस्थापन गरी समयमै अस्पताल जानाले संक्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ।
योसँगै इन्फ्लुएन्जाको सिजन चल्नुअघि नै निमोनियाविरुद्धको खोप निमोकोकल र भाइरल फ्लुविरुद्धको खोप वर्षको एकपटक लगाउनाले भाइरल संक्रमणको जोखिम कम ह्ुन्छ। यी खोपले भाइरल इन्फ्लुएन्जा र निमोनियाको संक्रमणबाट बच्न सकिन्छ।
सरकारले यी दुवै खोप निःशुल्क उपलब्ध गराउन नसकेकाले निजी मेडिकलमा किनेर लगाउन सकिन्छ। आज्मा, दम रोग आदिए भएका, मिर्गौला प्रत्यारोपण गरेका, बाथरोगको औषधि खाएका, फोक्सोको अन्य संक्रमण भएकाले उक्त खोप लगाउनु उचित हुन्छ। याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६